Rule 29
अनुमतिपत्र प्राप्त व्यक्तिले उर्जामापक यन्त्र जडान गरी दिनु पर्ने
(१) ग्राहक कहाँ विद्युत शक्तिको खपतको नाप गर्न अनुमतिपत्र प्राप्त व्यक्तिले आफनो तर्फबाट उर्जामापक यन्त्र राखी सो वापत मुनासिब माफिकको धरौटी लिन सक्नेछ (२) ग्राहक कहाँ विद्युत लाइन बहाल नरहेमा उपनियम (१) बमोजिम लिइएको धरौटी त्यस्तो ग्राहकलाई फिर्ता दिनु पर्नेछ ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विशेष परिस्थितिमा वा सरलीकरणको लागि विद्युत उपभोग गर्ने ग्राहक तथा अनुमतिपत्र प्राप्त व्यक्ति बीच आपसी समझदारी भएमा उर्जामापक यन्त्र नराखिकन पनि अनुमतिपत्र प्राप्त व्यक्तिले विद्युत वितरण
गर्न सक्नेछ ।
(४) अनुमतिपत्र प्राप्त व्यक्तिले ग्राहक कहाँ राखिएको उर्जामापक यन्त्र समय समयमा प्राविधिक जाँच गराउनु पर्नेछ र संचालनको कारणले गर्दा उर्जामापक यन्त्र बिग्रेको देखएमा बिना मूल्य अर्को फेरी दिनु पर्नेछ । तर ग्राहकले जानी जानी वा निजको लापरवाहीको कारणबाट उर्जामापक यन्त्र बिग्रेमा वा चोरी भएमा अनुमतिपत्र प्राप्त व्यक्तिले ग्राहकसँग सो वापतको मोल लिई नयाँ उर्जामापक यन्त्र जडान गर्नु पर्नेछ ।
(५) उर्जामापक यन्त्र बिग्रेको वा साधारणतः घुम्नु पर्ने भन्दा बढी घुमेको भनी ग्राहकले दरखास्त दिएमा अनुमतिपत्र प्राप्त व्यक्तिले यस्तो उर्जामापक यन्त्र बढीमा १५ दिनभित्र जाँच्न लगाउनु पर्नेछ ।
(६) उपनियम (५) बमोजिम जाँच गर्दा उर्जामापक यन्त्र साधारणतः घुम्नु पर्ने भन्दा बढी घुमेको देखिएमा अनुमतिपत्र प्राप्त व्यक्तिले बिना मूल्यमा मर्मत सुधार वा अर्को फेरी दिनु पर्नेछ ।
(७) ग्राहकको दावी अनुसार उर्जामापक यन्त्र बिग्री वा बढी घुमी निजलाई नोक्सान परेको देखिएमा ग्राहकले निवेदन दिएको मिति भन्दा एक महिना अगाडिसम्मको नोक्सानीको पूर्ति अनुमतिपत्र प्राप्त व्यक्तिले गर्नु पर्नेछ ।
(८) अनुमतिपत्र प्राप्त व्यक्तिले प्रत्येक महिनाको विद्युत खपत र सो वापत लाग्ने दस्तुर तिरेको समेत देखिने गरी ग्राहकलाई एक कार्ड उपलब्ध गराउनु पर्नेछ ।
(९) अनुमतिपत्र प्राप्त व्यक्तिले ग्राहकको घर जग्गामा जडान गर्ने उर्जामापक यन्त्र तथा तत्सम्बन्धी अन्य मालसामानमा आवश्यक संख्यामा सिल लगाउन सक्नेछ ।
(१०) उपनियम (९) बमोजिम लगाइएको सिल अनुमतिपत्र प्राप्त व्यक्ति वा निजले सटाएको व्यक्तिले बाहेक अरु कसैले बिगार्न, फेर्न वा कुनै प्रकारले नष्ट गर्न हुँदैन ।
(११) कुनै ग्राहक कहाँ अगाडि जडान भैसकेको विद्युत लाइन तथा उर्जामापक यन्त्र पाएक पर्दो अन्य ठाउँमा ग्राहकले सार्न चाहेमा नियम ३४ बमोजिमको दस्तुर लिई अनुमतिपत्र प्राप्त व्यक्तिले ग्राहकको विद्युत लाइन तथा उर्जामापक यन्त्र सार्न पर्नेछ ।
(१२) ग्राहकले अनुमतिपत्र प्राप्त व्यक्तिको विद्युत लाइन, उर्जामापक यन्त्र, कट– आउट वा सर्किटब्रेकर बिगार्नु हुँदैन ।